जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिवद्धताहरु
(क) हाम्रो योजना क्रान्तिकारी हिंसा सम्बन्धि मार्क्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ। हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालिन जनयुद्धका रुपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजय मार्क्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ।
(ख) जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ता बाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ। जनताका निमित्त राजनैतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखा पर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद, लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिवद्धता जाहेर गर्दछ।
(ग) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरु चलाउँदै मानव जाती कै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ। एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढता विना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनता प्रति अपराध हुने कुरामा हामी दृढ छौं। यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाव दिई सामान्य सम्झैतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन। यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पूँजीवादी, संकिर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवं जातिवादी विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त रहने छ।
(घ) हाम्रो यो योजना सर्वहारा अन्तराष्ट्रवादको महान् भावनामा आधारित रहनेछ। नेपाली क्रान्ति, सर्वहारा विश्व क्रान्तिको अभिन्न अंग हो र यसले विश्व क्रान्तिको सेवा गर्ने छ। हाम्रो पार्टी यस सन्दर्भमा मार्क्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्व क्रान्ति अघि बढाउन तथा नयाँ अन्तराष्ट्रिय निर्माणको दिशामा अद्धि बढिरहेको ‘क्रान्तिकारी अन्तराष्ट्रियवादी आन्दोलन’ (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ।) को विकासमा अझ बढी सहयोग पुर्याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ।
(ङ) हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निमार्णको सैद्धान्तिक मान्यतामा आधारीत रहने छ। अन्तरविरोधको नियमको सार्वभौमिकता अनुसार पार्टी भित्री संघर्षलाई द्धन्दात्मक ढंगले ग्रहण र त्यसलाई संचालन गर्नु पार्टीलाई त्यसरी सजिव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु पूरा ह्रदयले जनताको सेवा गर्ने जनतासंग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिवद्ध छ।
(च) हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्नेछ। पार्टीको नेतृत्वमा सामन्तवा र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिने छ। कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवी जनससमुदाय मूख्यतः गरीब किसाहरुमाथि भर परेर चल्ने छ। कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवं प्रतिक्रियावादी गुटहरुको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन।
(छ) युद्धमा आफ्नै नियमअनुसार त्यो सरल रेखामा होईन जटिल बक्र रेखामा अघि बढ्ने छ। लनिनको “क्रान्ति आफैले आफ्नो विकास क्रममा सधै नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरुरी छ। जीत र हार, उपलब्धि र क्षतिका चक्रहरु पार गरेर नै जनयुद्ध विजयी बन्नेछ। खराव कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठिक ढंगले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं।