Skip to main content

जान्नुहोस् बैठक कोठा चिटिक्क पार्ने १० उपाय !


जान्नुहोस् बैठक कोठा चिटिक्क पार्ने १० उपाय !

भनिन्छ, ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ । मान्छेको पहिलो नजरले आफ्नो धारणा बनाइसक्छ । त्यसैले हामीले मान्छेको सोझै पहिलो नजर पुग्ने ठाउँमा सजावट र सुन्दरतामा कमी गर्न हुँदैन ।  

कुनै पनि घरको बैठक कोठा भनेको प्रदर्शन कक्ष हो जहाँ घरमा आउने पाहुनाको सोझै आँखा पर्छ । थ्रिडी इन्टेरियर डिजाइनर जेस्ना महर्जनका अनुसार बैठक कोठालाई जहिल्यै व्यवस्थित र चिटिक्क पारेर आरामदायी बनाउनुपर्छ । 

घरमा आउने साथीभाइ तथा इष्टमित्रहरु बैठक कोठामा आएपछि आनन्द र सहजता महशुस गर्न सक्नुपर्छ।आकर्षक फर्निचर, कलाकृति, एम्बियन्स क्रियट गर्ने लाईट, टेलिभिजन, भित्ता र सिलिङमा सुन्दर कलर वा वालपेपरले सजाउँदा तपाईंको बैठक कोठा विलासी र आकर्षक देखिन्छ ।

तपाईंले सस्तो सामाग्रीको प्रयोगले पनि बैठक कोठालाई कलात्मक ढंगले सजाउन सक्नुहुन्छ । महंगा फर्निचरको ठाउँमा घरमा फालिएका काठका टुक्राहरुले पनि बैठक कोठा चिटिक्क पार्न सकिन्छ त्यो पनि प्राचिन शैलीमा । पछिल्लो समय मान्छेहरु आधुनिक सजावट भन्दा पनि प्राचिन सजावटमा मोहित हुन थालेका छन् ।

 कम बजेटमा बैठक कोठाको सौन्दर्य बढाउने उत्तम तरिका भनेको उचित व्यवस्थापन र कम फर्निचरको प्रयोग गर्नु हो ।  थ्रिडी इन्टेरियर डिजाइनर महर्जनका अनुसार बैठकको कोठाको आकार अनुसार सोफाहारु मिलाएर मध्यभागमा राख्नुपर्छ । सोफाको बिचमा वा अगाडि टेबलु र सजावटका सामान राख्न सकिन्छ ।

यदि तपाईंको बैठक कोठा सानो भएमा सोफा मिलाएर कुनामा राख्न सकिने महर्जनको सुझाव छ । अगाडिको भित्तामा टिभी र अर्कापट्टी भित्तामा दराज राख्न सकिन्छ । दराजमा पुस्तक, सिल्ड, प्रमाणपत्र लगायतले सजाउन सकिन्छ ।

आज हामीले घरको सजावटमा काम गर्ने विज्ञहरुसँग बैठक कोठा कसरी चिटिक्क पारेर सजाउन सकिन्छ भनेर छलफल गरेका छौं ।

१) मानिसको ध्यान केन्द्रित हुने ठाउँ बनाउनुहोस् 

बैठक कोठालाई थोरै बजेटमा रहेर पनि सजाएर आकर्षक देखाउने उत्तम उपाय भनेको सरलीकरण र कम सामाग्रीको प्रयोग हो । कम फर्निचर राख्नाले त्यसै पनि कोठा सुन्दर र खुल्ला देखिन्छ । कोठाको एउटा भित्तामा आकर्षक कलाकृतिको सजावट राख्नुहोस् र झ्याल खोल्न मिल्ने गरी कम फर्निचरको प्रयोग गर्नुहोस् । पुरै झ्याल खोल्दा प्राकृतिक उज्यालो कोठाभित्र छिरेर उज्यालो बनाउँछ । बैठक कोठामा सिल्ड, प्रमाणपत्र, पुस्तक राखेर पाहुना को ध्यान केन्द्रीत गर्न सकिन्छ ।

२) फर्निचर छनौट गर्दा ध्यान दिनुहोस् 

बैठक कोठामा अनावश्यक फर्निचर राखेर भद्दा बनाउन नहुने बताउँछिन् अर्की इन्टेरियर डिजाइनर कल्पना भट्टचन । अहिले बैठक कोठा सजावटका लागि भारत, चीनदेखि युरोपसम्मबाट फर्निचर बजारमा पाइन्छन् । तपाईंले त्यस्तो फर्निचरको छनौट गर्नुहोस् जसले बैठक कोठालाई आधुनिक देखाउन मद्दत गरोस । जस्तो कि सोफा राख्दा भद्दा किसिमको नराखी सामान्य खालको राख्नुपर्छ । कोठाको रङ सुहाउँदो फर्निचर राख्दा अझ सुन्दरता थपिन्छ । 

३) बैठक कोठा सजाउन रंगको सही छनौट गर्नुहोस्

बैठक कोठा आकर्षक देखाउन सबैभन्दा ठूलो भूमिका रङको हुन्छ । कोठाको सिलिङ र भित्तामा लगाइएको रङले पनि एम्बियन्स क्रियट गर्नुपर्छ । पछिल्लो समय रङको विकल्पमा वालपेपर पनि आइसकेको छ । काठमाडौंको गैह्रधारास्थित लिभिङ वाल्सका म्यानेजर भुवन थापाका अनुसार पछिल्लो समय आवासिय घरदेखि व्यवसायिक भवनको सजावटमा वालपेपर प्रयोग गर्नेहरु बढ्दै गइरहेका छन् ।

Source: My Move

कम सामान राखिएको बैठक कोठालाई ताजा र आकर्षक देखाउनको लागि रङको सहि प्रयोग महत्वपूर्ण हुन्छ । वाल पेपरमा विभिन्न रङ र डिजाइन मिसावट हुने हुँदा कोठा थप सुन्दर देखिन सक्छ । जस्तो कि, सादा र उज्यालो वालपेपर वा रङ लगाइएको भित्ताको अगाडि नीलो रंगको सोफा र सो भित्तामा सुन्दर ऐना राख्नाले कोठाको सुन्दरता बढाउन सक्छ । 

घरको भित्री सजावटको क्षेत्रमा काम गर्ने अनुभवी व्यक्तिको सहयोग लिएर सहि रंग वा वालपेपरको छनौट गर्नु आवश्यक हुन्छ । 

४) मान्छेको आँखा पर्ने कलाकृति राख्नुहोस्

पछिल्लो समय बैठक कोठा सजाउन पेन्टिङ राख्ने चलन बढ्दो छ । बजारबाट आकर्षक पेन्टिङ किनेर राख्ने बढ्दै गइरहेको पेन्टिङ व्यवसायी बताउँछन् । बैंकर्स पृथ्वी बहादुर पाँडेले आफ्नो निजी आवासदेखि इन्भेष्टमेन्ट बैंकको मुख्यालयसम्म करोडौं मूल्यका पेन्टिङले सजाएका छन् ।

पाँडेका अनुसार पेन्टिङमा मान्छेको नजर खिच्ने ताकत हुन्छ । त्यसैले त एउटै पेन्टिङ मूल्य पनि करोडौं तोकिएको हुन्छ । पेन्टिङले कोठा सजाउन सबैको आर्थिक क्षमताले नभ्याउन पनि सक्छ । महँगो कलाकृतिमा मोटो रकम खर्च नगरी आकर्षक चीजहरुको सिर्जना गरेर पनि कोठा सजाउन सकिन्छ ।

Source: Overstock.com 

घरमा प्रयोग भइसकेर फाल्न लागिएका वस्तुहरुबाट पनि सजावटका विभिन्न सामाग्री तयार पार्न सकिने अभिनेत्री सुरक्षा पन्त बताउँछिन् । उनी आफै पनि फाल्न लागिएका सामाग्रीलाई रि–युज गरेर घर सजाएकी छिन् । तपाईंले इन्टरनेटको माध्यमबाट खोजी गरी आपैmले सिर्जनात्मक कलाकृति बनाउन सक्नुहुन्छ ।

सामान्य सामाग्रीहरुको प्रयोग गरेर सिर्जनात्मक तरीकाले कुनै आकर्षक चीज बनाएर टेबलमा सजाएर राख्न सकिन्छ । बैठक कोठामा यस्ता सिर्जनात्मक कलाकृतिलाई सजाएर राख्दा कुनै संग्रहको भाग जस्तो देखिन्छ र यसले राम्रो प्रभाव पार्छ । 

पछिल्लो समय पुराना कलाकृति वा सामाग्रीहरु राखेर पनि बैठक कोठा सजाउने चलन बढ्दै गइरहेको छ । भित्ता र सिलिङमा थ्रिडी वालपेपर टाँसेर पनि बैठक कोठालाई कलाकृतिमय बनाउन सकिने लिभिङ वाल्सका म्यानेजर थापा बताउँछन् ।

५) आकर्षक पर्दाको छनौट गर्नुहोस्

बैठक कोठा आकर्षक बनाउन सुहाउँदो पर्दाको छनौट गर्नु जरुरी हुन्छ, किनभने त्यसले कोठाको आकर्षण सुधार्न मद्दत पु¥याउछ । इन्टेरियर डिजाइनर भट्टचनका अनुसार कोठामा पर्दा छनोट गर्दा भित्ताको र फर्निचरको रङसँग म्याचिङ गराउनुपर्छ । कोठामा सादा रंगको सोफा छ भने कोठालाई चम्किलो र सुन्दर बनाउन सादा पर्दाले परिपुरक भूमिका निर्वाह गर्छ । 

६) आकर्षक लाइटिङ राख्नुहोस् 

कोठाको सिलिङ वा भित्तामा आकर्षक कलर वा वालपेपर लगाउँदैमा कोठा सुन्दर र भावनात्मक बन्दैन । कोठा त्यतिबेला सुन्दर बन्छ, जब हामीले आकर्षक लाइट राखेर एम्बियन्स क्रियट गर्न सक्छौं । लाइटबाट निस्किने प्रकाशले तपाईं र पाहुनाको भावनाहरु जागृत गरिदिनुपर्छ ।

बैठक कोठा सजाउन आकर्षक लाइटको प्रयोग महत्वपूर्ण भइसकेको बताउँछन् भोटेबहालस्थित ओरेन्ट लाइट पसलका सञ्चालक अमन जलन । अहिले बजारमा नयाँ प्रविधिका आकर्षक लाइट पाइन्छन् जसले कोठामा एम्बियन्स क्रियट मात्र गर्दैनन् सफा, चम्किलो र आँखाका लागि पनि आरामदायी हुन्छन् ।  

कोठामा लाइट यसरी प्रयोग गर्नुहोस् कि पाहुनाको ध्यान स्वतः भित्ताको आकर्षक सजावटमा पुगोस् । सिलिङमा प्रयोग गरीने विभिन्न थरीका लाइटहरु र फर्निचरको पछाडि राखिने मनमोहक लाइटहरु नै बैठक कोठाको मुख्य आकर्षण हो । लाइटले कोठाको स्वरुपलाई आकर्षक बनाउनको लागि अहम भूमिका खेलेको हुन्छ । 

बैठक कोठामा क्रिस्टलका झुमर राखेर सजाउने पुरानै चलन हो । अहिले झुमरको प्रविधि, प्रकार र मूल्यमा पनि व्यापक परिवर्तन भइसकेको जलन बताउँछन् । पहिला झुमर एलिट बर्गले मात्र प्रयोग गर्न सक्थ्यो । तर, अहिले सामान्य आम्दानी हुनेले पनि घरमा झुमर राख्न सक्ने उनको भनाई छ । पछिल्लो समय चीनबाट भित्रिएका आकर्षक र सुलभ मूल्यका झुमरले सबैको पहुँच पुगेको हो । उनका अनुसार अहिले ४ हजारदेखि ४ लाखसम्मका झुमर किन्न पाइन्छन् ।

७) प्राकृतिक प्रकाशलाई कोठाभित्र छिर्न दिनुहोस्

Source: Black Pendant 

प्राकृतिक प्रकाश जहिले पनि कृत्रिम प्रकाशभन्दा धेरै सुखदायक हुन्छ । किनभने यसको प्रभावशाली चमक कोठाको भुई, भित्ता र फर्निचर भएको क्षेत्रमा पर्दा बेग्लै किसिमको सौन्दर्य प्रदान गर्छ । कम उचाइको टेबल र परम्परागत शैलीको बत्तीहरुको आकर्षक संयोजनले बैठक कोठालाई सुन्दर बनाउन सकिने इन्टेरियर डिजाइनर बताउँछन् । बैठक कोठामा झ्याल राख्दा र झ्यालनेर फर्निचर राख्दा निकै ध्यान पुर्याउनुपर्ने इन्टेरियर डिजाइनर भट्टचन बताउँछिन् ।

८) आकर्षक कुसनले सुन्दरता पैदा गर्नुहोस् 

भित्ताको सजावट र सामान्य फर्निचरमा विभिन्न रंगका सुन्दर कुशन राख्नाले बैठक कोठाको स्वरुपमा सुन्दरता थपिन्छ । पछिल्लो समय बैठक कोठामा आकर्षक कुसनको प्रयोग पनि बढ्दै गइरहेको छ । इन्टेरियर डिजाइनरहरुले पनि बैठक कोठा सजाउन आकर्षक कुसनको प्रयोगमा जोड दिन्छन । झुण्डिएका बत्तीहरु आकर्षक वालपेपर वा सुन्दर रंगले सजिएको भित्ताको अगाडि पार्नाले सामान्य बैठक कोठामा यसले सौन्दर्य भर्ने काम गर्छ । 

९) आकर्षक गलैंचा प्रयोग गर्नुहोस् 

भित्ता आकर्षक बनाएर मात्र बैठक कोठाले पूर्णता पाउँदैन जबसम्म तपाईंले भुइँमा सुन्दर गलैंचा बिच्छाउनुहुन्न । कोठाको भित्ता र फर्निचरसँग मेल खाने सहि गलैंचा छनोट गर्दा कोठा थप सुन्दर बन्छ । हातले बनाइएका परम्परागत शैली झल्किने आकर्षक गलैंचाहरु प्रयोग गर्दा घर सुन्दर मात्र बन्दैन् न्यानो पनि हुन्छ ।

स्रोत: टिबेटन रग्स 

नेपाली परम्परागत गलैंचाले विश्व बजारको ध्यान तानिरहेको छ । अहिले पनि गलैंचा सबैभन्दा बढी निर्यात हुने वस्तुको अग्रस्थानमा आउँछ । नेपाली गलैंचाको प्रयोगले कोठाको चमक फेरिन्छ । तर, नेपाली हातले बुनेका गलैंचाको मूल्य अलिक चर्को भने हुन्छ ।  रंगिविरंगी गलैचाको छनौट गरेमा मान्छेको आँखा त्यसमा पर्छ र कोठा पनि सुन्दर देखिन्छ । 

१०) भएको ठाँउको उत्तम तरिकाले प्रयोग गर्नुहोस्

बैठक कोठा भद्दा बनाउनु ठिक होइन । सकभर बैठक कोठामा थोरै तर आकर्षक सामानले सजाउन सक्नुपछ । सानो बैठक कोठामा ठाउँ पनि सीमित हुने भएकोले भएको ठाउँलाई ठूलो र खुल्ला देखाउनका लागि व्यवस्थित ढंगले सजावट गर्नुपर्ने इन्टेरियर डिजाइनर भट्टचनको सुझाव छ ।

उनका अनुसार सीमित ठाउँलाई सीमित फर्निचर राखेर सजाउनुपर्छ । जस्तो कि सोफालाई भित्तामा टाँसेर राख्न सकिन्छ । यदि बैठक कोठा ठूलो आकारको भएमा सोफाहरु बिचमा राख्नु राम्रो देखिन्छ । साना टेबलहरुलाई व्यवस्थित तरिकाले सीमित ठाँउमा पनि कुशलतापूर्वक राख्न सकिन्छ । 

अनावश्यक सामानहरुलाई बैठक कोठामा थुपारेर राख्नाले अव्यवस्थित र अप्रिय देखिने इन्टेरियर डिजाइनर बताउँछन् । सीमित फर्निचरलाई सबल तरिकाले व्यवस्थित गरेमा कोठा सुन्दर, सफा र चिटिक्क देखिन्छ।