१७ पुस २०७५ । लामो समयदेखि नेपालको खेल क्षेत्रमा पदकको खडेरी परिरहेको छ । खेल क्षेत्रमा व्याप्त फोहोरी राजनैतिक खिचतानीका कारण सक्षम व्यक्तिहरु लाई अवसर नदिनाले पनि यो समस्या सिर्जना भएकोमा कुनै दुइमत छैन । खेलाडी छनोट गर्दा आफन्त, आर्थिक लाभ लिन मिल्ने र व्यक्तिगत फाइदा हेरेर छनोट गर्नाले सक्षम व्यक्तिहरु ओझेल परिरहेको छन् । असक्षम व्यक्तिहरु खेल मैदानमा पुग्नाले अमुक व्यक्तिहरुको विदेश भ्रमण गर्ने सपना त पुरा भएको छ तर राष्ट्रिय खेलाडीले पदक जित्ने र देशको झन्डा फहराउन भने सकेको छैन । राष्ट्रले खेल क्षेत्रको लागी ठुलो लगानी गरेको भएपनि सही व्यक्तिहरुले प्लेटफर्म पाउन नसक्दा पोल्टा रित्तो बनाएर फर्किन परिरहेको सत्य हो । तथापी व्यक्तिगत प्रयास र लगानीमा मैदानमा उत्रिएका सक्षम खेलाडीहरुले भने सफलताको शिखर चुम्दै पदक आफ्नो पोल्टामा पार्नुका साथै राष्ट्रको चन्द्र सुर्य अंकित झण्डा फहराउन सफल भएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत नीलकन्ठ ११ ज्यामरुङका शंकर धमलाले चिनको स्वशासित क्षेत्र हङकङमा सम्पन्न मुई थाई च्याम्पियनसिप बक्सिङ प्रतियोगितामा व्यक्तिगत प्रयासमा प्रतिनिधित्व गर्दै स्वर्णपदक जित्न सफल भएका छन् । जुन धादिङवासी र सिंगो राष्ट्रको लागी गर्वको विषय हो । देशमा खेलेर जीविकोपार्जन गर्ने वातावरण नपाएपछि रोजगारीको खोजीमा विदेसिए पनि जागिरबाट बचेको फुर्सदको समयमा गरेको नियमित प्रयासले पनि स्वर्ण पदक जित्ने धमलाको प्रयास अतुलनीय छ । राज्यले खेल र खेलाडीमाथि गरेको लगानी बालुवामा पानी सरह भईरहेको समयमा धमला जस्ता एक व्यक्तिको प्रयासले सिंगो राष्ट्रको शीर उच्च राख्ने क्षमता राख्छ भने राज्यले पनि यो बुझ्न जरुरी छ कि खेलाडी माथि गरिएको लगानी सही ठाउँमा र सक्षम खेलाडी माथि भएको छैन । त्यसैले खेलकुद क्षेत्रको नीति निर्माणको तहमा रहेको व्यक्तिहरुले क्षमतावान खेलाडीहरुको पहिचान र सम्मान गर्नु आजको टड्कारो आवश्यकता हो । सक्षम खेलाडीहरु विभिन्न वहानामा पलायन भईरहने र असक्षम खेलाडीहरु नै चाकडी, चाप्लुसी या विभिन्न वहानामा सत्ताधारीहरुको नजिक भइरहने र उनीहरुले नै अवसर पाइरहने हो भने राष्ट्रले पदकको खडेरी सदा बेहोरिरहने छ ।